+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रास्वपामा नातेदार स्वकीय राखे सांसदलाई कारबाही

हाम्रो आँखा
२०८३ श्रावण ८, शुक्रबार ११:२४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्तिमा रोक लगाएको छ । पार्टीले जारी गरेको स्वकीय सचिव नियुक्तिसम्बन्धी नयाँ आन्तरिक निर्देशिकामा नातावाद र परिवारवाद नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको उल्लेख छ ।

महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशिकामा स्वकीय सचिव नियुक्ति गर्दा पार्टी सुशासनसम्बन्धी मूल नीतिअनुसार पारिवारिक सदस्य वा नजिकका नातेदारलाई नियुक्त गर्न नपाइने उल्लेख छ । नियुक्ति पारिवारिक घेराभन्दा बाहिरबाट मात्रै गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बालेन सरकारले संघीय सांसदलाई राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृतसरह) का एक जना स्वकीय सचिव राख्न पाउने सुविधा उपलब्ध गराएपछि रास्वपाले उक्त निर्देशिका जारी गरेको हो । अब सांसदहरूले स्वकीय सचिव छनोट गर्न सार्वजनिक सूचना प्रकाशित गरी खुला प्रतिस्पर्धाबाट आवेदन माग्नुपर्नेछ। संसदीय दलले तयार पार्ने विज्ञापनको ढाँचाअनुसार मात्रै प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था गरिएको छ।

सांसदको स्वकीय सचिव बन्न संघीय संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्नेलगायत योग्यता तोकिएको छ । रास्वपाले स्वकीय सचिवको पारिश्रमिकमा कुनै पनि प्रकारको कट्टा, असुली नगरी सोझै स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था गर्नुपर्ने भनिएको छ ।

सांसदले छनोट गरेका उम्मेदवारलाई नियुक्त गर्नुअघि रास्वपा संसदीय दलको अन्तिम स्वीकृति लिनुपर्नेछ। साथै, नियुक्त स्वकीय सचिवको बायोडाटा र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि पार्टीको केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ।

कागजमा स्वकीय सचिव देखाएर सरकारी सुविधा लिने, नातेदार नियुक्त गर्ने वा अन्य कुनै अनियमितता गरेको पाइए केन्द्रीय अनुशासन समितिमार्फत् तत्काल कारबाही गरिने चेतावनी दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ