नवलपरासी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजू प्रसाद गुप्ताविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा गुप्ताविरुद्ध आरोपपत्र दायर गरिएको हो।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम बिगो रु. ३ करोड ४५ लाख ३९ हजार ९ सय ६८ रुपैयाँ ७८ पैसा कायम गरी सोही बराबरको कैद र जरिवाना सजायको माग गरेको जनाएको छ।
त्यसैगरी, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न तथा लुकाइछिपाइ राखिएको सम्पत्तिसमेत जफत हुने मागदाबी गरिएको आयोगले जनाएको छ।