+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अघोषित लोडसेडिङ गरिएको भन्दै चारबुँदे माग सहित ध्यानाकर्षण

हाम्रो आँखा
२०८३ असार १५, सोमबार २२:०८

नवलपरासी ।पश्चिम नवलपरासीको बर्दघाट क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ, पटक–पटकको विद्युत कटौती तथा ट्रिमिङको समस्याप्रति ध्यानाकर्षण गराउँदै ‘बर्दघाटका लागि युवा अभियान’ ले नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ।

अभियानले बर्दघाट नगरपालिका तथा वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा केही समयदेखि बिना पूर्वसूचना दैनिकजसो विद्युत अवरुद्ध हुँदा सर्वसाधारणको जनजीवन, उद्योग–व्यवसाय, विद्यार्थीको अध्ययन तथा स्वास्थ्य संस्थाको सेवा प्रवाहमा गम्भीर असर परेको जनाएको छ।

ज्ञापनपत्रमा गर्मीको समयमा लामो समयसम्म विद्युत अवरुद्ध हुँदा नागरिकले सास्ती भोग्नुपरेको उल्लेख गर्दै नियमित महसुल तिर्दा पनि न्यूनतम गुणस्तरीय सेवा नपाउनु उपभोक्ताको अधिकारमाथिको बेवास्ता भएको उल्लेख गरिएको छ। विद्युत आपूर्तिलाई नियमित र गुणस्तरीय बनाउन तत्काल आवश्यक कदम चाल्न अभियानले माग गरेको छ।

युवाहरूले चारबुँदे माग अघि सारेका छन्। जसअनुसार अघोषित लोडसेडिङ तत्काल पूर्ण रूपमा बन्द गर्न, प्राविधिक कारणले विद्युत कटौती गर्नुपर्ने अवस्था आए पूर्वसूचना दिने व्यवस्था गर्न, ट्रान्सफर्मर, फ्युज सेवा तथा वितरण प्रणालीका प्राविधिक कमजोरी तत्काल मर्मत–सम्भार गरी सुधार गर्न तथा उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्न हेल्प डेस्क र ग्राहक सेवालाई थप प्रभावकारी र जवाफदेही बनाउन माग गरिएको छ।

अभियानले विद्युत आपूर्तिमा देखिएका समस्या तत्काल समाधान गरी उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ