नवलपरासी ।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९२ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा सुरु भएको नगरसभाको १८ औँ अधिवेशनमा उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बजेट प्रस्तुत गरेका हुन ।
प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ६१ करोड ६३ लाख ५० हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ३१ करोड २८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकाले आगामी वर्षको बजेटमा भौतिक पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य तथा खानेपानी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। साथै नगर प्रमुखका १२ अभियान, युवा स्वरोजगार तथा क्षमता विकासमा केन्द्रित “युवासँग उपमेयर” कार्यक्रमलगायत विभिन्न सामाजिक तथा विकासमुखी योजनाका लागि समेत बजेट व्यवस्था गरिएको छ।
नगरपालिकाले प्रस्तुत गरेको बजेटले आधारभूत सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै विकास निर्माणका कामलाई थप गति दिने अपेक्षा गरिएको छ।
स्थानीय तहको समग्र विकास, कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित बजेट ल्याइएको नगरपालिकाले जनाएको छ ।