+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवलपरासीमा घरदैलोमै राहदानी पाएपछि सेवाग्राही खुसी

हाम्रो आँखा
२०८३ जेष्ठ ९, शनिबार २२:३५

नवलपरासी, पश्चिम ।जिल्ला हुलाक कार्यालय नवलपरासीले नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यसहित घरदैलोमै पुगेर राहदानी वितरण कार्य सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त राहदानीलाई स्थानीय तहसम्म पु¥याएर सेवाग्राहीकै पहुँचमा सेवा दिने अभियान प्रभावकारी बन्दै गएको छ ।

जिल्ला हुलाक कार्यालय नवलपरासीका हुलाक अधिकृत रमेश ज्ञवाली का अनुसार जिल्ला प्रशासन कार्यालयबाट प्राप्त १३४ वटा राहदानीमध्ये हालसम्म १०८ वटा राहदानी वितरण गरिसकिएको छ । उनले जेठ ६ गतेदेखि नै वितरण कार्य सुरु गरिएको जानकारी दिए ।

नागरिकलाई जिल्ला प्रशासन कार्यालयसम्म धाउनुपर्ने झन्झट कम गर्न तथा स्थानीय स्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले जिल्लाका सातै स्थानीय तहमा रहेका हुलाक शाखामार्फत राहदानी वितरण गरिएको हो ।
तथ्यांक अनुसार सबैभन्दा बढी सुनवल मा २६ जनालाई राहदानी वितरण गरिएको छ ।

त्यसैगरी बर्दघाट मा २२ जना, रामग्राम र प्रतापपुर मा १५÷१५ जना, पाल्हीनन्दन मा १२ जना तथा सरावल मा ११ जनालाई राहदानी हस्तान्तरण गरिएको छ । सबैभन्दा कम सुस्ता गाउँपालिका मा ६ जनाले राहदानी प्राप्त गरेका छन् ।

हुलाक कार्यालयका अनुसार बाँकी रहेका २६ वटा राहदानी पनि वितरणको तयारी अवस्थामा रहेका छन् । आवश्यक प्रक्रिया पूरा गरी ती राहदानीसमेत चाँडै सम्बन्धित सेवाग्राहीसम्म पु¥याइने बताइएको छ ।
गत वैशाख २३ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरणसम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौतापछि वैशाख २८ गतेदेखि राहदानीका लागि फारम भर्ने कार्य सुरु गरिएको थियो ।

यसअघि राहदानी लिनका लागि सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । तर अहिले हुलाकमार्फत स्थानीय तहबाटै राहदानी प्राप्त गर्न सकिने भएपछि नागरिकलाई समय, खर्च र झन्झट कम भएको अनुभव भएको छ ।

घरमै राहदानी प्राप्त भएपछि सेवाग्राहीहरूले सरकारको सेवा प्रवाह प्रणालीप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।शनिबार बिदाको दिनमा समेत आफ्नै घरमा राहदानी बुझेका बर्दघाट १३ धनेवाका बिवेक परियारले घरमै राहदानी पाउँदा निकै खुसी लागेको बताए ।”मैले सोचेको पनि थिईन यति छिटो घरमै पासपोर्ट आउँछ भनेर,सरकारले राम्रो कामको सुरुवात गरेको छ”परियारले भने।

विशेषगरी वृद्धवृद्धा, महिला तथा टाढाका ग्रामीण क्षेत्रका नागरिकलाई यो सेवा निकै उपयोगी बनेको स्थानीयवासीले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीचको सहकार्यले सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमैत्री बनाउन मद्दत पुगेको सेवाग्राहीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ