नवलपरासी । सरकारले लागू गरेको विभेदकारी विज्ञापन नीति तथा प्रेस स्वतन्त्रता विरोधी गतिविधिको विरोधमा नेपाल पत्रकार महासंघको आह्वानअनुसार पश्चिम नवलपरासीमा पनि हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिको सर्कुलर बमोजिम पश्चिम् नवलपरासीमा पनि अभियान सुरु गरिएको महासंघ जिल्ला शाखाले जनाएको छ ।
अभियानमार्फत प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेप, सञ्चारमाध्यममाथिको विभेदकारी व्यवहार तथा विज्ञापन वितरणमा देखिएको असमान नीतिप्रति विरोध जनाइएको छ ।
महासंघका जिल्ला नेतृत्वले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधार भएकाले सञ्चार क्षेत्रलाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन् । उनीहरूले राज्यले समान र पारदर्शी विज्ञापन नीति लागू गर्नुपर्ने माग समेत गरेका छन् ।
अभियान अन्तर्गत पत्रकार, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा हस्ताक्षर संकलन भइरहेको शाखाका कार्यबाहक अध्यक्ष बिकास अधिकारीले जानकारी दिए ।
महासंघले प्रेस स्वतन्त्रताको संरक्षण, सञ्चारमाध्यमप्रति समान व्यवहार तथा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेको छ ।