बुटवल ।ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डेयको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ ।
मन्त्री पाण्डे चढ्ने लु१झ ७४५ नम्बरको स्कारपियो सिद्धार्थनगर नगरपालिका-८ बुद्धचोकस्थित निषेधित क्षेत्रमा पार्किङ गरेको पाइएपछि ट्राफिकले ५ सयको चिट काटेको हो । यो बिषय सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको बताइएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रतिमा कार्कीले ‘नो पार्किङ’ मा लाग्ने जरिवानावापत पाँच सयको चिट काटिएको जानकारी दिइन् । ट्राफिक प्रहरीले निषेधित क्षेत्रमा सवारी साधन पार्किङ नगर्न सर्वसाधारणलाई अपिलसमेत गरेको छ ।
सन्तोष पाण्डेय लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश सरकारमा छन् । सिद्धार्थनगरका स्थायी बासिन्दा उनी प्रदेश मुकामभन्दा बढी सिद्धार्थनगर क्षेत्रमै बस्ने गरेका छन् ।
-जन आस्था बाट