नवलपरासी ।पश्चिम नवलपरासीको बर्दघाटस्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालयको रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर ले संगठनको गौरव, अनुशासन र श्रीवृद्धिका लागि सम्पूर्ण जनशक्तिलाई प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभएको छ ।
रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै एआईजी ठाडा मगरले २५ वर्षे यात्रा केवल समयको दूरी नभई संगठनप्रतिको निष्ठा, समर्पण, अनुशासन र राष्ट्र सेवाप्रतिको अदम्य प्रतिबद्धताको प्रतीक भएको बताउनुभयो । उहाँले बदलिँदो विश्व भू–राजनीति, प्रविधिले सिर्जना गरेका चुनौती, जलवायु परिवर्तन तथा नकारात्मक सामाजिक सोचबीच सरकारको मार्गनिर्देशनअनुसार राष्ट्रिय लक्ष्य प्राप्तिमा विचलित नभई काम गर्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षालयको इतिहासबारे जानकारी दिँदै २०५८ साल जेठ ४ गते सिन्धुपाल्चोकको डाँडापाखरस्थित तत्कालीन प्रहरी युक्ति तालिम महाविद्यालय सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएको स्मरण गरियो । त्यसपछि २०५८ फागुन ९ गते कास्कीको लामापाटामा स्थानान्तरण भई विभिन्न आधारभूत तथा उन्नत तालिम सञ्चालन हुँदै आएको थियो । पछि २०६१ मंसिर १६ गतेको निर्णयअनुसार साविक नवलपरासीको माकर गाविस–४ मा शिक्षालय पुनः स्थानान्तरण गरिएको थियो ।
त्यसैगरी २०७४ मंसिर ५ गतेदेखि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम महाविद्यालयको रूपमा सञ्चालन हुँदै आएको संस्थालाई २०७५ जेठ २७ गते नेपाल सरकारको निर्णयअनुसार “सीमा सुरक्षा तालिम शिक्षालय” का रूपमा रूपान्तरण गरिएको जानकारी दिइयो ।
रजत जयन्तीको अवसरमा शिक्षालयले विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरेको थियो । शिक्षालयलाई विभिन्न क्षेत्रमा सहयोग पुर्याउने सहयोगी महानुभावहरूलाई समेत कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमबीच प्रस्तुत सांस्कृतिक कार्यक्रम तथा नृत्यहरूले समारोहमा थप आकर्षण र रौनकता थपेका थिए ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल ले शिक्षालयले गौरवमय २५ वर्ष पूरा गरेकोमा शुभकामना व्यक्त गर्दै सशस्त्र प्रहरीले राष्ट्र सुरक्षा र सीमा व्यवस्थापनमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
उहाँले सीमाबाट हुने अवैध चोरी निकासी नियन्त्रणका लागि अझ प्रभावकारी रूपमा सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
यस्तै सम्भुलाल श्रेष्ठ ले शिक्षालयले सुरक्षाका साथै नगरको विकास र सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले बर्दघाट क्षेत्रका पर्यटकीय स्थलहरूको सरसफाइ, बर्दघाटदेखि शैलाश धामसम्मको पदमार्ग निर्माण तथा वातावरण संरक्षणका गतिविधिमा सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।