+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्व मेयर बस्यालको पार्टी परित्याग ।असन्तुष्टि कि अवसरको खोजी !

हाम्रो आँखा
२०८३ बैशाख ३०, बुधबार १०:२२

नवलपरासी । धिरज शर्मा बस्यालले नेकपा एमालेको जिम्मेवारी र पार्टी सदस्यता परित्याग गरेपछि पश्चिम नवलपरासीको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । उनको यो कदमलाई कतिपयले पार्टीभित्रको असन्तुष्टिको परिणामका रूपमा हेरेका छन् भने कतिपयले यसलाई भविष्यको राजनीतिक अवसर खोजीको रणनीतिका रूपमा विश्लेषण गरेका छन् ।

बस्यालले सार्वजनिक रूपमा पार्टीभित्र विकसित कार्यशैली, सिद्धान्त र व्यवहारबीच असन्तुलन देखिएको, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको तथा इमानदार कार्यकर्ताको योगदानको उचित मूल्यांकन हुन नसकेको भन्दै गम्भीर असहमति व्यक्त गरेका छन् । आफूले पटक–पटक धारणा, सुझाव र सुधारका विषय उठाउँदा पनि नेतृत्व तहबाट अपेक्षित आत्मसमीक्षा र सुधारको संकेत नदेखिएको अनुभूति भएपछि सदस्यता त्याग गर्ने निर्णयमा पुगेको उनको भनाइ छ ।

नेपालको राजनीतिक परिवेशमा दल त्याग नयाँ विषय होइन । विशेषगरी नेतृत्वसँग असन्तुष्टि, अवसरको अभाव वा भविष्यको राजनीतिक सम्भावना खोज्दै दल परिवर्तन गर्ने प्रवृत्ति पुरानै मानिन्छ । तर अधिकांश अवस्थामा दल छोड्ने नेताहरूले आफू आबद्ध दलमाथि वैचारिक विचलन, कार्यशैलीको समस्या वा लोकतान्त्रिक मूल्य कमजोर भएको आरोप लगाउने गरेका छन् । बस्यालको अभिव्यक्ति पनि त्यही प्रवृत्तिसँग मिल्दोजुल्दो देखिएको छ ।

तुलनात्मक रूपमा हेर्दा, एमालेभित्र पनि लामो समय जिम्मेवारी सम्हालेका नेताहरूले असन्तुष्टि सार्वजनिक गर्दै पार्टी छोडेका घटना यसअघि पनि देखिएका छन् । तर बस्याल स्थानीय तहको नेतृत्व सम्हालिसकेका र जिल्लास्तरमा प्रभाव राख्ने नेताका रूपमा चिनिने भएकाले उनको बहिर्गमनले जिल्लाको राजनीतिक समीकरणमा केही प्रभाव पार्न सक्ने आँकलन गरिएको छ ।उनको यो कदमलाई विभिन्न तवरबाट टिकाटिप्पणी सुरु भएको छ ।उनलाई एकथरीले चरम अवसरबादिको उपमा भिराएका छ्न भने केहिले राजनीतिक दाउपेजमा सामान्य लिएका छ्न ।

उनका केहि समर्थक हरुले उनलाई निर्णय क्षमता,अध्ययनशिल जुझारु नेतृत्वको रुपमा समेत लिने गरेका छ्न ।स्थानीय तह गठनपछि पहिलो नगरप्रमुख बनेका उनले नगरको सर्वाङ्गिण बिकासमा कुशल नेतृत्वदायी भूमिका निर्वाह गरेको,दुरदर्शिता र भिजन बोकेको नेतृत्वको रुपमा समेत उनका निकटस्थहरु बताउँछन । तर पार्टी भित्रै सबै सँग सम्बन्ध सुधार गर्न नसकेको, सार्वजनिक पदिय जिम्मेवारीमा रहदा विपक्षलाई काखी च्याप्ने गरेको र सिमित घेरा भित्र रहेका कारण पार्टी भित्रै उनी कमजोर बनेको समेत आरोप लाग्ने गरेको छ ।

यद्यपि उनले तत्काल कुन राजनीतिक यात्रामा अघि बढ्ने भन्ने स्पष्ट संकेत दिएका छैनन् । त्यसैले उनको कदम वैचारिक असहमतिको निष्कर्ष हो वा आगामी राजनीतिक अवसरको तयारी भन्ने प्रश्न भने अहिले पनि खुला नै रहेको छ ।तर रास्वपा प्रवेश गरी पुनः स्थानीय तहमा मेयरको टिकट हत्याउन उनले एमाले छोडेको यत्रतत्र चर्चा चुलिएको छ ।केही दिन अघि मात्रै उनी काठमाडौ गएर रास्वपाका केही उच्च तहका नेताहरूसगको छलफल पछि मात्रै उनले दल त्याग गरेको श्रोत बताउँछ ।केही दिनमै उनी रास्वपा प्रवेश गर्ने आंकलन समेत गरिएको छ ।

शर्मा एमाले भित्रै गुटको चपेटामा पिल्सिएका पात्र रहेको उनका समकक्षीहरु बताउँछन ।पार्टी भित्रको एउटा तहनै उनको विरुद्धमा लागेको समेत चर्चा हुने गरेको छ ।गएको स्थानीय तहको निर्वाचनमा समेत उनलाई हराउन केही समूह लागेको बिषय समेत बाहिर आउने गरेको छ ।बस्याललाई एमालेले अवसर भने नदिएको होईन ।उनलाई स्थानीय तहको टिकट दिएर उनी प्रथम नगरप्रमुख बनेका थिए भने जिल्ला सचिव जस्तो जिम्मेवारी पदमा रहेर काम गर्दै आएका थिए ।

गएको एमालेको अधिवेशनमा उनले पार्टीको जिल्ला अध्यक्ष बन्न जोड गरेका थिए तर अध्यक्ष पदमा उनको पक्षमा समर्थन नजुटेपछी उनले सचिवमा चित्त बुझाएको बताईन्छ ।पछिल्लो समय नवलपरासीमा दल त्याग्ने प्रवृत्ती बढ्दै गर्दा लामो समय पार्टीमा योगदान गरेका ब्यक्तिहरुले अन्य दल रोज्दै गर्दा साचिकै दलहरुमा फरक मत स्विकार्य नहुने होत,आन्तरिक लोकतन्त्र कमजोर भएको हो त भन्ने प्रश्न समेत उब्जिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ