नवलपरासी (पश्चिम) । बर्दघाट नगरपालिका योगमय शहर बनाउने अभियानलाई थप मजबुत बनाउँदै अघि बढेको छ। मौसम अनुकूल भएसँगै आज (वैशाख १९, २०८३) बर्दघाट–१५ स्थित सेन्टर प्लट खेलमैदानमा निःशुल्क बृहत योग विज्ञान शिविर भव्य रूपमा सम्पन्न भएको छ।
बर्दघाट नगरपालिकाको सहयोग तथा त्रिनेत्र बुद्ध मङ्गलयोग समितिको आयोजनामा सम्पन्न उक्त शिविर योग गुरु नरेश पंगेनीको अध्यक्षता एवं प्रमुख प्रशिक्षणमा सञ्चालन गरिएको थियो। कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठ , वडा नं. १५ का अध्यक्ष रुद्र आले सहभागी भएका थिए।
यसैगरी वडा नं. ५ का अध्यक्ष विमला गुरुङ, जनप्रतिनिधिहरू, सल्लाहकार, लेखा समितिका सदस्य, कार्यसमितिका पदाधिकारी, साधना केन्द्रका प्रतिनिधि, साधक–साधिकाहरू तथा स्थानीय संघसंस्था र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा वातावरण शुद्धीकरणको उद्देश्यसहित हवनसमेत गरिएको थियो। साथै लक्ष्मी सुनारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति गठन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका वक्ताहरूले योगलाई स्वस्थ जीवनशैलीको आधारका रूपमा अंगिकार गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको सञ्चालन समिति सचिव प्रकाश श्रेष्ठले गर्नुभएको थियो। शिविर भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।