नवलपरासी । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०७९ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा ७ जना नेतासँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले सम्बन्धित व्यक्तिहरूलाई ५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
समितिका अनुसार स्पष्टीकरण सोधिएका नेताहरूमा लुम्बिनी प्रदेशका वन मन्त्री तथा कांग्रेस महासमिति सदस्य देवकरण प्रसाद कलवार (सन्तु), पूर्व केन्द्रीय सदस्य एवं मन्त्री प्रदीप सुनुवार (कोशी प्रदेश), लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेश सभा सदस्य तथा उपसभापति राजु खनाल, मधेश प्रदेश सभा सदस्य जंगीलाल राय, मधेश प्रदेशकी सांसद स्वच्छन्दी देवी महतो र प्रदेश सांसद कौशल किशोर राय रहेका छन्।
निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको विषयमा उजुरी परेपछि अनुशासन समितिले प्रारम्भिक छानबिन गरी स्पष्टीकरण माग गर्ने निर्णय गरेको जनाएको छ।