नवलपरासी ।बर्दघाट–१६ स्थित सूर्यनगर रंगशालामा जारी १०औँ संस्करणको सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल चरण अन्तर्गत आज सम्पन्न खेलमा वीरगञ्ज युनाइटेडले शानदार जित दर्ता गरेको छ।
वीरगञ्ज युनाइटेड र मकवानपुर हेटौंडाबीच भएको प्रतिस्पर्धात्मक खेलमा वीरगञ्जले ३–१ गोल अन्तरले जित हात पार्दै फाइनल यात्रा सुनिश्चित गरेको खेल संयोजक मीन गुरुङले जानकारी दिए।
खेलमा हेटौंडाका प्रजोल थापा मगर उत्कृष्ट प्रदर्शनका लागि ‘म्यान अफ द म्याच’ घोषित भए। यद्यपि, खेलका क्रममा वीरगञ्ज युनाइटेडका खेलाडी सन्दीप लामा (जर्सी नम्बर ६) ले रेड कार्ड पाएका थिए।
प्रतियोगिताको उपाधि नजिक पुगेको वीरगञ्ज युनाइटेड अब फाइनल खेलका लागि थप उत्साहित देखिएको छ ।