काठमाडौ ।नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। भेलाको तयारीका लागि पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले तीन हजार १६४ जना सहभागी गराउने निर्णय गरेको छ।
राष्ट्रिय कार्यकर्ता भेला अभिमुखीकरणमूलक हुने निर्णय गरेको छ। मंसिर २ गते बिहान ११ बजे सुरु हुने भेला भोलिपल्ट साँझसम्म सञ्चालन हुनेछ।
भेलामा पार्टीको केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटी, स्थानीय तह, जनसंगठन र विभिन्न तहका जनप्रतिनिधिसहित कुल ३ हजार १६४ जना सहभागी हुने जनाइएको छ।
निर्धारित विवरणअनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चबाट ५५ जना सहभागी हुनेछन्।
त्यसैगरी, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी तथा राजधानी प्रदेशअन्तर्गतका चार जिल्लाबाट गरी जिल्ला तहका ४४० जना सहभागी हुनेछन्। पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक हजार ५०६ जनाको सहभागिता रहने बैठकले जनाएको छ।
भेलामा संघीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये नगरपालिकाका मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना र उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना सहभागी हुनेछन्। त्यस्तै, विभिन्न जनसंगठनबाट ९६ जनाको सहभागिता रहनेछ।
एमालेले भेलामार्फत् पार्टीका विभिन्न तहका नेता तथा प्रतिनिधिलाई अभिमुखीकरण गर्ने तयारी गरेको छ। भेलाको व्यवस्थापन तथा सहभागितासम्बन्धी थप तयारीका लागि बैठकले तय गरेका निर्णय कार्यान्वयन गरिने जनाइएको छ।
केन्द्रीय संगठन विभागको आयोजनामा पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका उपमहासचिव लेखराज भट्ट प्रमुख अतिथिका रूपमा सहभागी थिए। पार्टी सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, सांसद क्षितिज थेबे, प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यलगायत करिब ३० जनाको उपस्थिति थियो।