रसुवामा आएको बाढीपछि विभिन्न कामको सिलसिलामा रसुवा पुगेका नवलपरासीका ११ जना सम्पर्कविहिन भएका छन् । उनीहरु अहिलेसम्म सम्पर्कमा नआएको भन्दै नामावली संकलन भएको सरकारी निकायहरुले जनाएका छन् ।
लुम्बिनी प्रदेश विपद् व्यवस्थापन शाखा, जिल्ला प्रहरी कार्यालयसहित सुरक्षा निकायबाट संकलन गरेको विवरणअनुसार सम्पर्कविहिन हुनेमा सबैभन्दा बढी सुनवल नगरपालिकाका चार जना रहेका छन् ।
सुनवलबाट कामको शिलसिलामा पुगेर सम्पर्कविहिन भएकाहरुमा सुनवल नगरपालिका–७ चारपाला घरभई हाइड्रोपावरमा चालक रहनु भएका २७ वर्षीय सुजन श्रेष्ठ, भूमही घरभई माथिल्लो त्रिशुलीमा लेखा शाखामा कार्यरत ३२ वर्षीय सविना मिश्र, वडा नम्बर ७ समयटोल घरभई हाइड्रोपावरमा कार्यरत २५ वर्षीय सन्दिम क्षेत्री र हरकट्टा घरभई पर्यटकलाई गाइड गर्ने ३५ वर्षीय शिव न्यौपाने भएको विवरणमा उल्लेख छ ।
त्यसैगरी बर्दघाट नगरपालिका घर भएका ३ जना सम्पर्कविहिन रहेका छन् । सम्पर्कविहिन हुनेमा बर्दघाट–१० अलावल घरभई मैलुङखोला हाइड्रोपावरमा काम गर्ने ३५ वर्षीया सनी चौधरी(पुरुष), वडा नम्बर १६ सिद्धनगर घरभई रसुवागढी हाइड्रोपावरमा काम गर्ने ४५ वर्षीया भीमबहादुर वि.क. र २५ वर्षीय सञ्जय शेर्पाली रहेका छन ।
त्यस्तै सरावल गाउँपालिकाबाट २ जना सम्पर्कविहिन रहेका छन् । सम्पर्कविहिन हुनेमा सरावल–१ बासाबसही घरभई बेत्रावती विद्युत हाइटेन्सनमा काम गर्ने ६० वर्षीय सर्ज चौधरी र सोही ठाउँ र सोही ठाउँमा काम गर्ने ३५ वर्षीय माधव चौधरी रहेका छ्न ।
सुस्ता र प्रतापपुर गाउँपालिकाबाट १÷१ जना सम्पर्कविहिन भएको विवरण परासी पत्र अनलाइनलाई प्राप्त भएको छ । त्यसरी सम्पर्कविहिन हुनेमा प्रतापपुर–७ छिवनी घरभई प्रहरी सहायक हवल्दारमा कार्यरत ३० वर्षीय हरेन्द्र यादव र सुस्ता–१ बरुवा घरभई टिमुरे एमिग्रेसन कार्यालयमा कार्यरत ३० वर्षीय यादव भण्डारी रहेका छन ।
विभिन्न कामले त्यस क्षेत्रमा गई सम्पर्कमा नआएकाहरुको विवरण उपलब्ध गराउन जिल्लास्थित सुरक्षा निकायले अनुरोध गरेको छ ।
-परासीपत्र अनलाईन बाट