+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

श्रमदानमा अनवरत जुटेका बर्दघाटका श्रम अभियन्ताहरुले फेर्दै छ्न् पार्कको स्वरुप

हाम्रो आँखा
२०८३ जेष्ठ ३१, आईतवार २३:४३

बर्दघाट, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिएको पारिजात सामुदायिक वन क्षेत्रमा स्थानीय अभियन्ताहरू श्रमदानमार्फत पर्यापर्यटन पार्क निर्माणमा जुटेका छन्। स्थानीयको सक्रिय सहभागिता र निरन्तर श्रमले उक्त क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियान तीव्र बनेको छ।गरे के हुदैन र भन्ने अभियान बाट सुरु भएको सामुहिक श्रम सस्कृतीले पछिल्लो समय पार्कको सौन्दर्यिकरण हुँदै गएको छ ।

पछिल्लो समय श्रम अभियानमा संलग्न स्थानीयहरूले पोखरी निर्माण, फलफूलका बिरुवा रोपण, फोहोर संकलन, बिरुवा संरक्षण, प्रवेशद्वार निर्माण, बगैँचा व्यवस्थापन तथा साना चौतारी निर्माणलगायतका कार्यहरू गर्दै पार्कको स्वरूपलाई थप आकर्षक बनाउँदै लगेका छन्। यस अभियानमा स्थानीय तहले समेत सहकार्य गर्दै आएको भए पनि योजनालाई अझ बृहत् र दीर्घकालीन बनाउन थप लगानी आवश्यक रहेको अभियन्ताहरूको भनाइ छ।


प्राकृतिक सौन्दर्य, हरियाली वातावरण र शान्त परिवेशले भरिपूर्ण यो क्षेत्र कोलाहलपूर्ण जीवनबाट केही समय विश्राम लिन चाहनेहरूका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ। व्यवस्थित विकास गर्न सके यसले आन्तरिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
पार्कसम्म पुग्ने बाटो निर्माणदेखि पोखरी खन्नेसम्मका काममा स्थानीयहरू स्वस्फूर्त रूपमा कुटो, कोदालो, गैँती र हँसिया बोकेर निरन्तर श्रम गरिरहेका छन्। कोही ढुंगा बोकिरहेका छन् भने कोही बिरुवा रोप्ने, सरसफाइ गर्ने र संरक्षणका काममा खटिएका छन्।

कुनै आधुनिक मेसिन वा उपकरणको प्रयोगबिना भइरहेको यो श्रम संस्कृतिले पर्यटन विकासको आधार तयार गर्नुका साथै आफ्नो ठाउँको विकासका लागि स्थानीयलाई एकताबद्ध बनाएको छ।यहाँ स्थानीय रुपमै उपलब्ध कच्चा सामाग्रीहरुको प्रयोगबाट नेपाली शैलिको मौलिक पुर्वाधार झल्किने खालका संरचना निर्माण भैरहेका छ्न ।


स्थानीयवासीका अनुसार सामूहिक श्रम, सामुदायिक भावना र प्रकृतिप्रतिको माया नै पारिजात सामुदायिक वनलाई भविष्यको आकर्षक पर्यापर्यटन पार्क बनाउने मुख्य शक्ति बनेको छ। स्थानीय तह र सरोकारवाला निकायबाट आवश्यक पूर्वाधार तथा बजेटको व्यवस्था भएमा यो क्षेत्र बर्दघाटकै नमुना पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ