नवलपरासी । नवलपरासीको समग्र आर्थिक विकास र औद्योगिक समृद्धिका लागि सरोकारवालाहरूबीच बीहीवार छलफल कार्यक्रम सम्पन्न भएको छ। उद्योग वाणिज्य संघ, नवलपरासीको आयोजनामा परासीस्थित संघको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै संघीय सांसद विक्रम खनालले नवलपरासी जिल्ला औद्योगिक सम्भावनाले भरिपूर्ण रहेको बताए। उनले उद्योगीहरूका समस्यालाई संघीय सदनमा जोडदार रूपमा उठाउने र औद्योगिक विकासका लागि आवश्यक ऐन कानुन परिमार्जन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, अर्का वक्ता संघीय सांसद नरेन्द्र कुमार गुप्ताले स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गरी निर्यातमुखी उद्योगमा जोड दिनुपर्ने बताईन भने संघीय सांसद रिंगला यादवले आर्थिक विकासमा महिला उद्यमीहरूको भूमिका र समावेशी लगानीको महत्त्वबारे चर्चा गरिन ।

उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिरेन्द्र अग्रहरीले निजी क्षेत्रले भोग्नुपरेका प्रक्रियागत झन्झट र पूर्वाधारको अभावका कारण व्यवसायीहरू मारमा परेको गुनासो गरे। उनले राज्यले उद्योगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष ओमप्रकाश अग्रहरीले जिल्लाको आर्थिक मेरुदण्डका रूपमा रहेका उद्योगी र राज्यका प्रतिनिधिबीचको यो छलफलले ठोस कार्यदिशा तय गर्ने विश्वास व्यक्त गरे ।
उनले निजी क्षेत्र र सरकार मिलेर अघि बढे मात्रै नवलपरासीलाई देशकै नमुना आर्थिक केन्द्र बनाउन सकिने बताए।
कार्यक्रममा जिल्लाभरका निजी क्षेत्रका प्रतिष्ठित उद्योगी, व्यापारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।